काठमाडौँ । भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा खेपिरहेका कांग्रेस नेता तथा पूर्वमन्त्री टेकबहादुर गुरुङको सांसद पद निलम्बन भएको छ । संघीय संसद् सचिवालयले मंगलबार सूचना जारी गर्दै अदालतमा विचाराधिन अवस्थामा रहेको मुद्दा किनारा नलागुञ्जेलसम्म संवैधानिक व्यवस्थाअनुसार गुरुङको सांसद पद निलम्बनमा परेको जनाएको हो ।
अख्तियारले उनीसहित १६ जनाविरुद्ध माघ २०७५ मा विशेष अदालतमा दायर गरेको मुद्दा विचाराधीन छ । गुरुङलाई मात्रै ३१ करोडको बिगो तोकिएको छ । सरकारी सम्पत्ति हिनामिना गरेको अभियोग लागेका उनी पनि संसद् सदस्यमा चुनिएका हुन् ।
कानुनअनुसार गुरुङ स्वतः निलम्बनमा परेका व्यक्ति भए पनि त्यसविपरीत बिहीबार सांसद पदको शपथमा सहभागी भएका थिए । गुरुङमाथि भ्रष्टाचार अभियोगमा मुद्दा चलिरहेकोले उनको सांसद पद निलम्बनमा राख्न यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संसद् सचिवालयलाई पत्राचार गरेको थियो ।
तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा श्रम तथा रोजगार राज्यमन्त्री भएका उनले काठमाडौं फनपार्कको जग्गा भाडामा लगाउँदा भ्रष्टाचार गरेको अभियोग छ ।