काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाल र नेपालका लागि अमेरिकी राजदूत डिआर थोम्सनबीच शिष्टाचार भेटवार्ता भएको छ ।
मंगलबार मन्त्री भुसालसँग राजदूत थोम्सनले मन्त्रालयमै शिष्टाचार भेटघाट गर्नुभएको हो । भेटघाटको क्रममा मन्त्री भुसालले नेपाल र अमेरिकाबीच सन् १९४८ मा स्थापना भएको कूटनीतिक सम्बन्ध अहिले ७५औं वर्षमा प्रवेश गरेको स्मरण गर्दै दुवै राष्ट्रका नेताबीचको उच्चस्तरीय भ्रमणले दुवै मुलुकबीचको सम्बन्ध नवीकरण र विस्तारमा महत्त्वपूर्ण योगदान गर्दै आएको स्मरण गराउनुभयो ।
भेटमा राजदूत थोम्सनले कृषि क्षेत्रको उत्पादन बढाउनका लागि दुई अर्ब ५० करोड बराबरको सहयोग गर्न आफूहरू तयार रहेको अवगत गराउनुभयो । विगतमा कोभिड-१९ को कारण पीस कोर्प स्वयंसेवक कार्यक्रम बन्द रहेको र आगामी जुन महिनादेखि सुरु गर्ने तयारी रहेको उहाँको भनाइ छ ।
साथै उहाँले नेपालको आर्थिक वृद्धिदर बढाउन र कृषि क्षेत्रको व्यापार घाटा कम गर्न कृषि र पशुपालन क्षेत्रका थप कार्यक्रम ल्याउन आफूहरू तयार रहेको समेत उहाँले प्रतिबद्धता जनाउनुभयो ।