घोराही बन्यो बालमैत्री उपमहानगरपालिका

काठमाडौं। घोराही लाई बालमैत्री उपमहानगरपालिका घोषणा गरिएको छ । बुधबार विशेष समारोहबीच लुुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले घोराहीलाई संघीय शासन व्यवस्थापछिको पहिलो बालमैत्री उपमहानगरका रूपमा घोषणा गर्नु भएको हो । घोराहीले ५१ वटा सूचक पूरा गरेपछि बालमैत्री घोषणा गरिएको हो ।

जिल्ला समन्वय समिति र प्रदेश सरकारको अनुगमनका क्रममा सबै प्रक्रिया तथा सूचकहरू पूरा भएको पाइएपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले चैत ९ मा बालमैत्री स्थानीय तह घोषणा गर्न अनुमति दिएको थियो । बालमैत्री घोषणा गर्दै मुख्यमन्त्री केसीले अब घोराहीमा बालबालिकाका अधिकार सुरक्षित हुने बताउनु भयो । ‘बालबालिका नै भविष्यका आधार हुन् । उनीहरूका सम्पूर्ण अधिकार स्थानीय सरकारले संरक्षण गर्न जरुरी छ,’ वहाँले भन्नुभयो, ‘बालमैत्री उपमहानगर घोषणाले बालअधिकारको संरक्षणमा महत्त्वपूर्ण टेवा पुर्‍याउने छ ।’

घोराहीलाई यसअघि नै पूर्णखोप, खुला दिसामुक्त र सहयोगापेक्षी सडक मानवमुक्त नगर घोषणा गरिसकिएको नगर प्रमुख नरुलाल चौधरीले बताउनु भयो । बालमैत्री घोषणाले नगरलाई नमुना सहरका रूपमा विकास गर्ने वहाँको दाबी छ । ‘अब घोराही बालमैत्रीका बारेमा अध्ययन गर्ने महत्त्वपूर्ण थलो बन्नेछ,’ वहाँले भन्नुभयो, ‘बालबालिकाका अधिकार कसरी सुरक्षित गरिन्छ भन्ने विषयमा अध्ययन गर्न घोराहीमा पुग्नुपर्छ भन्ने सन्देश दिएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *