काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ चियान थाओले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको योगदान भुल्न नसकिने बताउनुभएको छ ।
मंगलबार अध्यक्ष नेपाल, नेता खनाल सहितको प्रतिनिधिमण्डलसँगको भेटघाटमा लिउले चिनीयाँ उक्ति प्रयोग गर्दै अध्यक्ष नेपालको योगदान स्मरण गरिरहने बताउनुभएको हो ।
‘नेकपा एकीकृत समाजवादी पार्टीको रुपमा नयाँ भएपनि यसका प्रमुख नेताहरु नयाँ नभएको र उहाँहरुसँग चीन र चिनियाँ कम्युनिष्ट पार्टीको लामो र गहिरो मित्रता रहिआएको छ । आगामी दिनमा पनि यो मित्रतालाई थप सुमधुर र बलियो बनाउन चिनीयाँ कम्युनिष्ट पार्टी तयार छ,’ लिउको भनाई उदृत् गर्दै बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
उक्त अवसरमा लिउले माधव नेपालको नेतृत्वमा नेपाल चीन सम्बन्ध र चिनियाँ कम्युनिष्ट पार्टीसँगको सम्बन्ध सुमधुर बनाउन भएका कामको संक्षिप्त संस्मरण समेत गर्नुभयो ।
उहाँले ‘इनारको पानी खानेले इनार खन्नेलाई भुल्नु हुँदैन’ भन्ने चिनीयाँ उक्ति जस्तै चीन र चिनियाँ कम्युनिष्ट पार्टीले अध्यक्ष नेपालको नेतृत्वमा भएका कामको सदैव उच्च सम्मान गर्ने बताउनुभयो । साथै, आगामी दिनमा समेत नेकपा एकीकृत समाजवादी र अध्यक्ष नेपालसँगको सम्बन्धलाई उच्च महत्वका साथ अगाडि बढाउन तयार रहेको लिउको भनाई थियो ।