काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले केन्द्र सरकार टिकाउ नहुँदा स्थानीय तहहरूलाई समस्या परिरहेको गुनासो गर्नुभएको छ। काठमाडौं महानगरपालिकाद्वारा आयोजित न्यायिक समितिको राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई स्थायी सरकार चाँडै गठन गर्न र टिकाउन सुझाव दिनुभयो । प्रधानमन्त्री प्रचण्डसमेत उक्त कार्यक्रममा सहभागी हुनुहुन्थ्यो।
शाहले भन्नुभयो, ‘स्थानीय सरकार पाँच वर्षका लागि हुन्छ । तर, उहाँहरूको सरकार टिक्दैन । यसले गर्दा स्थानीय तहलाई समस्या पर्छ । म प्रधानमन्त्रीज्यूलाई भन्न चाहन्छु, यसपालि चाहिँ सरकार केही समयलाई टिकिदिए हामीलाई समन्वय गर्न सजिलो हुने थियो ।’
स्थानीय सरकार एक्लैले गर्न नसक्ने कामहरू धेरै हुने अनुभव बालेनले सुनाउनुभयो । काठमाडौं महानगरले बाग्मती सभ्यता जोगाउन खोजिरहेको भन्दै यसमा केन्द्र सरकारको सहयोगका लागि आशा राखेको उहाँले बताउनु भयो ।
‘यसका लागि मैले हिजो पनि प्रधानमन्त्री, मन्त्रीज्यूहरूसँग अनुरोध गरेको थिएँ । आज पनि गर्छु । पहिले सार्वजनिक सम्पत्ति जोगाऊँ, खोलानाला जोगाऊँ, त्यसपछि लिपुलेक पनि जोगाउँला ।’ बालेनले चाँडै नै स्थायी सरकार बनेर आफूहरूले सहकार्य गर्न पाउने आशा व्यक्त गर्नुभयो ।