काठमाडौं । सत्ता गठबन्धनको बुधवार विहान बसेको बैठकपछि संयुक्त वक्तव्य जारी गर्दै राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेर जनताले निर्वाचित गरेको संघीय संसदको अपमान भएको ठहर गरेको छ । संसदको दुवै सदनबाट पारित गरी प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार पारित गर्न अस्वीकार गर्नुभएको थियो ।
राष्ट्रपतिको पछिल्लो कदम गैरसंवैधानिक रहेको जिकिर गर्दै राष्ट्रपतिको कदमबाट संविधानसभाबाट निर्मित संविधानले व्यवस्था गरेको जनतामा निहीत सार्वभौम सत्ता, संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक शासन व्यवस्थाका आधारभूत मूल्य र मान्यतामा गम्भीर प्रहार भएको गठबन्धन बैठकले निष्कर्ष निकालेको छ । यसले नागरिकता प्राप्त गरिसकेका नेपाली आमा वुवाका सन्तानले नेपाली नागरिकता प्राप्त गर्ने संवैधानिक हकबाट बञ्चित हुने विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले हस्तक्षर गर्नुभएको छ ।