काठमाडौं । नेकपा ( एकीकृत समाजवादी )का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपालको राजनैतिक परिवर्तनमा महिलाहरूको निर्णायक र नेतृत्वदायी भूमिका रहेको बताउनु भएको छ । ११३ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै नेपालको राजनीतिक परिवर्तनका हरेक आन्दोलनहरूमा महिलाहरूको निर्णायक सहभागिता र नेतृत्व रहिआएको बताउनु भएको हो ।
‘संविधान र कानुनमार्फत आधारभूत व्यवस्थाहरू गरी त्यसलाई अभ्यासमा ल्याएका छौँ । फलतः मुलुकका तीनै तहका सरकार, संसद् र नीति निर्माण तहमा महिलाको प्रतिनिधित्व वृद्धि हुनुका साथै महिला सशक्तीकरणमा त्यसले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।’ अध्यक्ष नेपालद्वारा जारी सन्देशमा उल्लेख गरिएको छ ।
महिलालाई सामाजिक, राजनीतिक, सांस्कृतिक र आर्थिक अवसरहरूमा विना भेदभाव समान अवसर उपलब्ध गराउन र लैङ्गिक समानताको बाटोमा अघि बढ्न आजको दिनले सबैलाई उत्प्रेरित गर्दै आएको बताउँदै महिला श्रमिकहरूमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरण तथा महिला हक अधिकार स्थापित गर्न सङ्घर्ष सुरु गरेको दिनका रूपमा विश्वभर अन्तर्राष्ट्रिय नारी दिवस मनाउने गरिएको उहाँको कथन छ ।
अहिले पनि बिभिन्न रुपमा महिलाहरू आर्थिक, सामाजिक शोषण भेदभावपूर्ण व्यवहारको सिकार भइरहेकोमा चिन्ता व्यक्त गर्दै अध्यक्ष नेपालले चेलीबेटी बेचबिखन, बलात्कार, हत्या, घरेलु हिंसा र सामाजिक कुरीतिलाई हटाएर सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको विकास गरी समान अधिकार स्थापित गर्न आजको दिनले थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नु भएको छ ।