पहिरोले पुरिएर सासु बुहारीको मृत्यु 

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा पहिरोले पुरिएर एकै परिवारका सासु बुहारीको मृत्यु भएको छ ।  निरन्तरको वर्षासँगै गएराति घर माथिबाट झरेको पहिरोले पुरिएर सिरिजङ्घा गाउँपालिका–७ खेबाङमा सासुबुहारीको मृत्यु भएको हो ।

पहिरोले पुरिएर सासु तुलसा अधिकारी र बुहारी यसोधा अधिकारीको मृत्यु भएको सिरिजङ्घा गाउँपालिकाका उपाध्यक्ष डा चित्र माबोले जानकारी दिनुभयो ।  मृतक दुवै जनाको सव शुक्रबार बिहान स्थानीयले पहिरोले पुरिएको अवस्था फेला पारेका उपाध्यक्ष माबोले जानकारी दिनुभयो । 

स्थानीयका अनुसार राती ११ बजेतिर घरमाथि पहिरो झरेको र सो पहिराले अधिकारीको घर बगाएको थियो । मृतक यसोधाका श्रीमान विष्णु अधिकारी भने भागेर ज्यान बचाउन सफल हुनुभएको स्थानीय ज्ञानेन्द्र पुर्कुटीले जानकारी दिनुभयो । अधिकारी पनि भाग्ने क्रमा सामान्य घाइते हुनुभएको बताइएको छ ।

यता घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी टोली घटनास्थलतर्फ गएको बताइएको छ । प्रहरी टोली घटनास्थल पुगेपछि मात्र विस्तृत विवरण आउने ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कैलास राईले जानकारी दिनुभयो ।

यता तीन दिन यतादेखि निरन्तर वर्षा भइरहेको र वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा बाढी पहिरोले क्षति पुर्याएको छ । अधिकांश ग्रामीण सडकहरु अवरुद्ध बनेका छन् भने विद्युत, सिँचाइ, विद्यालय लगायतमा क्षति पुगेको स्थानीयले बताएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *