पुरानो गठबन्धन ब्युँताउने प्रयासमा प्रचण्ड

काठमाडौं । पुस १० गतेसम्म तत्कालीन सत्ता गठबन्धनमै रहेको माओवादीलाई पुरानै अवस्थमा फर्काउन जुटेको कांग्रेस संसदको दोस्रो ठूलो दल नेकपा एमालेलाई भने चिढ्याउने रणनीतिसहित अघि बढेको छ।

कांग्रेसले गत पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएर पुस १० गते भत्किएको आफू नेतृत्वको ५ दलीय सत्ता गठबन्धनलाई ब्युँताउने प्रयासस्वरुप माओवादी फकाउने र एमाले चिढ्याउने रणनीति बनाएको हो।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा केन्द्रीय सदस्यत्रय प्रकाशमान सिंह, अर्जुननरसिंह केसी र प्रदीप पौडेलको फरक मतबीच प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा माओवादीविरुद्ध उम्मेदवारी नै नदिने भएको छ।

सत्ता गठबन्धनले राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवारमा माओवादी नेतृ उर्मिला अर्याललाई अघि सारेको छ। कांग्रेसको उम्मेदवारी नपर्ने भएपछि अब अर्याल निर्विरोध हुने करिब निश्चित जस्तै छ।
सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा आइतबार बिहान बसेको कांग्रेस संसदीय दल कार्यसमिति बैठकले उम्मेदवारी नदिने निर्णय गरेर एमालेलाई थप चिढ्याउने प्रयास गरेको छ।

गत पुस १० गते भत्किएको तत्कालीन पाँच दलीय गठबन्धन ब्युँताउने प्रयासमा रहेको कांग्रेसले आसन्न राष्ट्रपति निर्वाचनमा माओवादी समर्थन लिने प्रयास गरिरहेको छ।

यही प्रयासस्वरुप कांग्रेसले माओवादीले उम्मेदवारी दिएका संघदेखि प्रदेशसम्मका विभिन्न पदहरुमा समर्थन गरिरहेको राजनीतिक वृत्तमा चर्चा छ।

प्रधानमन्त्री प्रचण्डबाट राष्ट्रपति निर्वाचन ९फागुन २५० मा साथ पाउने आश्वासन पाएको कांग्रेसले बागमतीसहितका प्रदेशहरुमा माओवादीका तर्फबाट सत्ता गठबन्धनका मुख्यमन्त्रीहरुलाई विश्वासको मत दिएको थियो।

कांग्रेसले सत्ता गठबन्धनका तर्फबाट एमालेले अघि सारेका उम्मेदवारहरुविरुद्ध भने चुनौती दिएर एमाले र माओवादीबीच फाटो ल्याउने प्रयास गरिरहेको छ।

एमाले र माओवादीबीच फाटो ल्याउनकै लागि कांग्रेसले सत्ता गठबन्धन स्पष्ट बहुमतमा रहे पनि एमाले उम्मेदवार देवराज घिमिरेविरुद्ध सभामुखमा उम्मेदवारी दिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *