बाजुरा। बाजुराको बुढीगंगा नगरपालिकामा स्थानीय निर्वाचन अन्तर्गत आज मतदान हुँदैछ। आज बिहान ७ बजेदेखि मतदान सुरू भएको मतदान कार्य अपरान्ह ५ बजेसम्म चल्ने प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिनुभयो ।
गत वैशाख ३० मा स्थानीय चुनावमा बुथ कब्जा भएको भन्दै बिबाद भएपछि मतदान स्थगित भएको थियो । त्यसैले निर्वाचन आयोगले पुनः निर्वाचन गर्न लागेको हो । शान्तिपूर्ण तवरले मतदान भइरहेको प्रजिअ अधिकारीले बताउनुभयो ।
बुढीगंगामा नेपाली कांग्रेसबाट रंगबहादुर खाती र एमालेबाट रामबहादुर बानियाँ मेयर पदका लागि उम्मेदवार हुनुहुन्छ । मतदानका लागि १० मतदान स्थल र १९ केन्द्र तोकिएका छन्। निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएका छन्। मतदान सकिएपछि मतपेटिका संकलन गर्ने र सकेसम्म आजैदेखि मतगणना सुरू गर्ने तयारी छ।