काठमाडौं। सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल/पाल्पा सडकको सिद्धबाबा खण्डमा मंगलबार बिहानै अविरल वर्षाका कारण गएको पहिरोले यातायात सेवा अवरुद्ध भएको हो।
प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार पाल्पाको तिनाउ गाउँपालिकाको माथिल्लो सिद्धबाबा नजिकै ठूलो पहिरो खसेको छ। सँगसँगै सडकमाथिबाट पानीको ठूलो छहरा खस्दा साना सवारीसाधनहरुको आवागमन पनि रोकिएको छ। सिद्धबाबा वर्ष हुनासाथ लगातार पहिरो जाने गर्छ। वर्षा नरोकिएसम्म सडक खुल्ने संभावना कम रहेको प्रहरीको भनाइ छ।
पानीको छहरासँगै गएको पहिरोले सवारीसाधन आवागमन रोकिन पुगेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।प्रहरीका अनुसार मंगलबार बिहान ६ बजेदेखि सवारी साधन सञ्चालन हुन सकेका छैनन्। वर्षाका कारण राजमार्गमा ठूलो पहिरो नगएको भए पनि सिद्धबाबा क्षेत्रका केही ठाउँमा ढुंगाहरु खसेका छन्।
सिद्धबाबा र झुम्साका बीचमा ढुंगा र पहिरोहरु खसेको दोभान प्रहरी चौकीका प्रहरी नायब निरीक्षक विष्णुबहादुर कुँवरले बताउनु भयो। अहिले दुवैतर्फ सवारी साधनहरु रोकिएका छन्। रुपन्देहीसहित धेरै ठाउँमा बिहानैदेखि वर्षा भइरहेको छ। वर्षाले ठाउँठाउँका सडकहरुमा पानी जम्दा यातायात ओहोरदोहोरमा समस्या देखिएको छ।