काठमाडौं । सत्तारुढ ३ दलको प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान बसेको बैठक बिना निश्कर्ष पुनः बस्नेगरी सकिएको छ । मन्त्री नियुक्त गर्न बाँकी रहेका मन्त्रालय बाँडफाँडको लागि सत्ताका निर्णयक ३ दलको बैठक बसेको हो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र माधवकुमार नेपाल, नेपाली कांग्रेस उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, पार्टी महामन्त्री गगन थापा, नेकपा एकीकृत समाजवादी महासचिव घनश्याम भुसाल र किसान श्रेष्ठ सहभागी हुनु हुन्थ्यो । बैठकमा रिक्त मन्त्रालयमा मन्त्री नियु्क्ति तथा बाँडफाँड लगायतका विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।
कांग्रेसको भागमा परेको ४ मन्त्री नियुक्त गर्न बाँकी छ । यसअघि गठबन्धनमा रहेको डा सिके राउत नेतृत्वको जनमत पार्टी सरकारबाट बाहिरिएको छ । गठबन्धन टिकाउन प्रधानमन्त्रीलाई विश्वासको मत दिए पनि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा सामेल भएको छैन । कांग्रेसले मन्त्री नटुंग्याउँदा र सत्ता गठबन्धनको २ दल सरकार बाहिर रहँदा ६ मन्त्रालय अहिले प्रधानमन्त्रीकै काँधमा छ । प्रधानमन्त्रीले अहिले समालिरहनु भएको मन्त्रालयको भागबण्डा मिलाउन प्रमुख ३ दलको बैठक बसेको हो । आजको बैठकमा पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष नेपालले थप एक मन्त्रालय माग्नुभएको बालुवाटार स्रोतको भनाई छ ।
सत्ता गठबन्धन टिकाउन महत्वपूर्ण भूमिका खेलेको एकीकृत समाजवादीले यसअघि देखि नै ३ मन्त्रालयको अडान लिएको थियो । तर प्रधानमन्त्री दाहालले एक मन्त्रालयपछि मिलाउँला भन्दै मन्त्रिमण्डल बिस्तार गर्दा २ जनाको नाम मात्रै पठाउन आग्रह गर्नुभएको थियो । एकीकृत समाजवादीले पहिल्यैदेखि उपाअध्यक्ष वेदुराम भुसाल, उपमहासचिव प्रकाश बुढाथोकी ज्वाला र भानुभक्त जोशीलाई सरकारमा पठाउने निर्णय गरेको थियो । तर प्रधानमन्त्रीले सातौ पटकको मन्त्रिमण्डल पुनर्ठनमा २ जना मात्रै मागेपछि जोशी मन्त्री बन्नबाट रोकिनु भएको थियो । एकीकृत समाजवादीका अध्यक्ष नेपालले जोशीलाई मन्त्री बनाउन थप एक मन्त्रालय माग्नुभएको हो ।