लमजुङमा थपिए ६ वटा मतदान केन्द्र

काठमाडौं। स्थानीय निर्वाचनपछि लमजुङमा ६ वटा मतदान केन्द्र थपिएका छन् । थपिएका मतदान केन्द्रहरूमा दोर्दी गाउँपालिका ६ भगवान् आधारभूत विद्यालय कीर्तिपुर, दोर्दी वडा ६ कै युल्सा तामाङ सामुदायिक भवन ढोडेनी, दोर्दी ६ हिमालय क्षेत्र सिं आधारभूत विद्यालय दुवार, बेँसीसहर नगरपालिका– ११ बाल विकास मावि रामचोकबेँसी, मध्यनेपाल नगरपालिका– ८ विश्वज्योति आधारभूत विद्यालय मजुवाबेँसी र सुन्दरबजार नगरपालिका– ८ अकला आधारभूत विद्यालय अकला रहेको निर्वाचन कार्यालय लमजुङले जनाएको छ ।

एउटा मात्रै संघीय निर्वाचन क्षेत्र रहेको लमजुङमा प्रदेश सभाका लागि दुईवटा निर्वाचन क्षेत्र रहेका छन् । प्रदेश सभा ‘क’तर्फ ६७ मतदानस्थल र ९१ मतदान केन्द्र रहेका छन् । त्यस्तै ‘ख’तर्फ ६१ मतदानस्थल ९५ केन्द्र रहेका छन् । लमजुङमा जम्मा एक लाख ३३ हजार पाँच सय ५९ मतदाता रहेका छन् । स्थानीय निर्वाचनपछि दुई हजार ६५ मतदाता नयाँ थपिएका निर्वाचन कार्यालयका सूचना अधिकारी जीवाखर शर्माले बताए । जिल्लामा यससँगै ६८ हजार २ सय ८८ महिला मतदाता रहेका छन् भने ६५ हजार दुई सय ७१ पुरुष मतदाता रहेका छन् ।

प्रदेश सभा ‘क’तर्फ महिला मतदाता ३१ हजार आठ सय ७२ रहेको छ भने ३१ हजार सात सय तीन पुरुष मतदाता गरी ६३ हजार पाँच सय ७५ मतदाता रहेका छन् । त्यस्तै प्रदेश सभा ‘ख’तर्फ ३६ हजार चार सय १६ महिला र ३३ हजार पाँच सय ६८ पुरुष गरी ६९ हजार नौ सय ८४ मतदाता रहेका जिल्ला निर्वाचन अधिकारी नारायणप्रसाद सापकोटाले बताए । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा लमजुङमा एक लाख ३१ हजार चार सय ९४ मतदाता रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *