काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वामगठबन्धनको सरकार सम्भव नरहेको बताउनुभएको छ ।
मंगलवार पार्टी कार्यालयमा भएको सचिवालय बैठकपछि पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष नेपालले
वामगठबन्धन गरेर सरकार बनाउने सम्भावना आफूले नदेखेको बताउनुभयो । अहिलेकै गठबन्धनबाट नयाँ सरकार बन्ने उहाँको भनाइ थियो ।
उहाँले भन्नुभयो, ‘वामगठबन्धन गरेर सरकार बन्ने सम्भावना म देख्दिनँ । त्यसैले अहिलेकै गठबन्धन दलहरूबीच सहकार्य गरी अघि बढ्ने हामीले ठानेका छौं।’
उहाँले अब को प्रधानमन्त्री बन्ने भन्नेबारे अहिले नै गठबन्धनभित्र छलफल भइनसकेको बताउनुभयो । केही ठाउँमा पुनः मतदान र मतगणना नै बाँकी रहेकोले यसका लागि छलफल गर्ने समय रहेको उहाँको भनाइ थियो। सचिवालय बैठकमा चुनावी समीक्षा पनि भएको उहाँले बताउनुभयो ।