शहरी विकास मन्त्री चौधरी एक्सनमा : काम नगर्ने ठेगेदारलाई कारबाहीको चेतावनी

काठमाडौं । धरहरा अवलोकनमा निस्किएका सहरी विकास मन्त्री मेटमणि चौधरीले ठेकेदार कम्पनीका प्रतिनिधिलाई कम्तिमा आफ्नो इज्जतको पनि ख्याल गर्न भनेका छन् ।

आयोजना निर्देशक कोषनाथ अधिकारीबाट धरहरा निर्माण आयोजनाको प्रगति विवरण सुनिसकेपछि मन्त्री चौधरीले ठेकेदार कम्पनीका प्रतिनिधितर्फ लक्षित गर्दै भने– ‘परियोजना सुरु गर्नु अघि चुनौतीबारे किन ख्याल नगरेको ? चार पटक म्याद थप भैसकेछ । अब कति पटक थप्नु पर्ने ? कम्तिमा आफ्नो इज्जतको त ख्याल गर्नुस् । पैसा मात्रै कमाउन खोजे जस्तो नगर्नुस् ।’
‘करिब आधा मात्र काम हुँदा पनि तत्कालीन प्रधानमन्त्रीलाई उद्घाटनका लागि किन हौस्याउँनुभयो ? मैले पनि त्यस्तै काम गर्न थाले भने रोक्नुपर्ने दायित्व तपाईँहरुको होइन र ?’ सचिवतर्फ हेर्दै मन्त्री चौधरीले प्रश्न तेस्र्याएपछि सबैजना गम्भीर बनेका थिए ।
‘धेरैको आसा भएको ठाउँ हो । काम छिटो गर्नुस् । नत्र पेनाल्टी समेत हुन सक्छ ।’ मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले पनि ताकेता गरे ।

आयोजना निर्देशक अधिकारीले धरहरा निर्माण परियोजनाको प्रगति विवरण प्रस्तुत गर्दै भने, ‘कुल ३ अर्ब ४८ करोड १६ लाख ९१ हजार २३८ रुपैया ४६ पैसा (भ्याट सहित) को लागतमा २ वर्षमा सक्नेगरि सम्झौता भएको थियो । चार पटक म्याद थप भइसकेको यस परियोजनाको अन्तिम मिति ०७९ असोज मसान्त रहेको छ । हालसम्म भौतिक निर्माणतर्फ ७५ प्रतिशत र वित्तियतर्फ करिब ६६ प्रतिशत काम सम्पन्न भएको छ ।’

जिआइइटिसी –रमन जेभी (सम्झौता कम्पनी) का प्रोजेक्ट म्यानेजर संजय नकर्मीले ५ रोपनीबाट काम सुरु गरिएको तर नेपाल राष्ट्र बैंकको टक्सार विभाग, हुलाक कार्यालय, कर्मचारी संचय कोषको भवन समेत हटाउँदा धरहरा निर्माण परियोजनाको क्षेत्रफल ४२ रोपनी पुगेको बताए । र त्यसैकारण पनि बढी समय लागेको उनको भनाई थियो । उनका अनुसार धरहराभित्र २ वटा लिफ्ट सिस्टम हुने छन् । लिफ्टमा एक पटकमा १० जना चढ्न मिल्ने छ ।

डबल बेसमेन्टमा धरहरा ठडिएको छ भने २ वटा स्केलेटर पनि रहेका छन् । ट्रिपल बेसमेन्ट पार्किङ एरियामाथि गार्डेन (ल्याण्ड स्केपिङ),मण्डला, ३ वटा म्युजिकल वाटर फाउन्टेन, टिकट काउन्टर, सिटिङ एरिया, बाइसधारा, फुड कोर्ट (इटरी ब्लक), शौचालय, ४ तले मिन्ट म्युजियम समेत रहने जनाइएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी ओलीले भौतिकतर्फ ५४ प्रतिशत र वित्तियतर्फ जम्मा ४२ प्रतिशत मात्रै काम हुँदा पनि धरहराको उद्घााटन गरेका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *