कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरमा शीतभण्डार (कोल्ड स्टोर) गृह निर्माण हुने भएको छ। शीतभण्डार निर्माणका लागि नगरपालिकाले २५ लाख रुपैयाँ विनियोजन गरेको छ।
वसन्त सामुदायिक वनको जग्गामा शीतभण्डार निर्माण हुन लागेको हो। सामुदायिक वनको स्वामित्वमा रहेको जग्गा शीतभण्डारका लागि चलनभोगका लागि वातावरणीय प्रभाव मूल्याङ्कन गर्न सम्बन्धित निकायमा पठाउने सहमति भएको छ। सामुदायिक वनका उपभोक्ताले वातावरणीय प्रभाव मूल्याङ्कनका लागि सहमति जनाएका छन्। वडा नं. ११ का वडा अध्यक्ष शेरबहादुर साउदले सर्वपक्षीय बैठकले शीतभण्डार गृह निर्माणका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णय गरेको बताए।
‘नगरपालिका क्षेत्रमा शीतभण्डार गृह नहुदा व्यवसायिक खेतीमा संलग्न किसानले कृषि उपज, तरकारी, फलफूल लगायत बाह्य क्षेत्रमा लगेर भण्डारण गर्नु पर्ने अवस्था छ। स्थानीय स्तरमै शीतभण्डार गृह निर्माण भएपछि यस क्षेत्रका बासिन्दा लाभान्वित हुने भएका छन्।
नगर प्रमुख रण बहादुर महराले शीतभण्डारका लागि केही रकम नगरपालिकाबाट विनियोजन गरिएको भएपनि त्यसले योजना सम्पन्न गर्न नपुग्ने भएकाले प्रदेश र संघीय सरकारलाई गुहार्ने बताए।