सत्ता गठबन्धनले निर्वाचनमा धाँधली गरेको एमालेको आरोप

काठमाडौं। नेकपा एमालेले आइतबार एक विज्ञप्ति मार्फत सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनमा तीन चरणमा धाँधली गरेको आरोप लगाउँदै मतगणनामा असन्तुष्टि पोखेको छ ।

मत गणना गर्दा सत्ता गठबन्धनलाई फाइदा पुग्ने गरी उम्मेदवार भएको र नभएको दुई निर्वाचन चिन्हमा मतदान गरेकोमा सो मतपत्रको सम्बन्धित मत बदर हुनुपर्नेमा सदर गर्ने कार्य गरिएको एमालेको भनाइ छ । यस्तै मतगणना स्थलमा कानुनविपरीत सत्ता गठबन्धन पक्षधर उम्मेदवारको मतलाई सदर गर्ने र नेकपा (एमाले) पक्षधर उम्मेदवारको मत बदर गर्ने गरी फरक–फरक मानक बनाई पक्षपातपूर्ण व्यवहार गरेको एमालेको दाबी छ ।

सोको प्रतिवाद गरी पुनः मतगणनाको निवेदन दिँदा लिन अस्वीकार गरेको भन्दै एमालेले लमजुङको मध्यनेपाल नगरपालिकाको मतगणना स्थलबाट मतगणना प्रतिनिधिलाई हटाई एकलौटी मतगणना गर्ने काम भएको समेत आरोप लगाएको छ । यस्तै मतगणनाको क्रममा काठमाडौंको चन्द्रागिरी वडा नं. ३ र ४ लगायतका स्थानमा खसेको मतभन्दा बढी मत बाकसमा देखिएपछि पुनः मतदानको माग गर्दा अस्वीकार गरी निरन्तर मतगणना जारी राखेको महासचिव शंकर पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *