सत्यको बाटोमा हिँड्न निर्देशन

काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई सत्यको बाटोमा हिँड्न निर्देशन दिनुभएको छ ।

एमाले पार्टी मुख्यालयमा स्कुल विभागले आज यहाँ आयोजना गरेको विशेष अनुशिक्षण कार्यक्रममा उहाँले एमाले पार्टी सत्य र इमानमा विश्वास गर्ने पार्टी भएकाले नेता तथा कार्यकता पनि सत्यको बाटोमा हिँड्नुपर्ने बताउनुभयो । उहाँले नेता तथा कार्यकर्तालाई छलछाम र चलाखीको बाटो नलिनसमेत आग्रह गर्नुभयो ।

“हामीले सत्यको बाटो लिने हो । छलछामको बाटो लिने होइन । चलाखीको बाटो होइन । इमानको बाटो लिने हो”, उहाँले भन्नुभयो, “हामी अनुशासित ढङ्गले अगाडि बढ्छौँ । एमालेपन भनेको अनुशासित हो ।” एमाले पार्टी सत्यसँग कहिल्यै नलड्ने, शक्तिसँग नझुक्ने भन्दै उहाँले सत्यसँग बाझिएको शक्ति छ भने हामी त्यस्तो शक्तिसँग नझुक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “कहिलेकहिले सत्य कमजोर देखिन सक्छ । एकछिन सत्य कमजोर देखिए पनि सत्य बलियो देखिन्छ ।” अध्यक्ष ओलीले एमालेका नेता तथा कार्यकर्ता पार्टीको वास्तविक विचार, सङ्गठन, आचारणबाट अगाडि बढ्नुपर्ने भनाइ राख्नुभयो । उहाँले पार्टीका कसैले भ्रष्टाचार गरेको खण्डमा सजाय भोग्नुपर्ने र त्यसमा पार्टीले केही गर्न नसक्ने बताउनुभयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *