जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सात लाख नागरिकले नागरिकता पाउने कुरा जनकपुर आएर सुनाउन पाउँदा गर्व महसुस् भएकाे बताउनुभएकाे छ ।
शुक्रबार सदनबाट नागरिकता विधेयक पास हुँदा तराई मधेशका करिब ७ लाख नागरिकले नागरिकता पाउने पक्का भएपछि पार्टीको तर्फबाट जनकपुर आएको बताउँदै अध्यक्ष दाहालले यस्ताे बताउनुभएकाे हाे ।
जनकपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले खुशीको खबर सुनाउन पहिलो पटक जनकपुर आएको समेत बताउनुभयाे ।
‘हिजोमात्रै सदनबाट झण्डै सात लाख नेपालीहरु नागरिकताको अभावका कारणले धेरै कामबाट बञ्चित हुनुपर्ने जो अवस्था थियो त्यसको अन्त्य भएको छ, अब त्यो तुरुन्तै कार्यान्वयन हुन्छ,’ उहाँले भन्नुभयाे, ‘आज यो कुरा फेरि जनकपुरमा पहिलो पटक आएर सुनाउन पाउँदा मलाई गर्वको महसुस् भएको छ ।’