सामाजिक सुरक्षामा वैदेशिक श्रमिक

काठमाडौं । वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिक आजदेखि सामाजिक सुरक्षामा समेटिँदै छन्। सामाजिक सुरक्षा कोषले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा कार्यक्रम आयोजना गरी वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योजनामा सूचीकृत गर्ने कार्य प्रारम्भ हुँदैछ। 

वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कोषमा आवद्ध गर्दै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने क्रममा कार्य शुभारम्भ गर्न लागिएको सामाजिक सुरक्षा कोष कोषका प्रवक्ता विवेक पन्थीले जानकारी द्निुभएको छ।  योजना शुरु भएसँगै वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपाली श्रमिक लाभान्वित हुने अनुमान गरिएको छ। 

वैदेशिक रोजगारी र विदेशमा स्वरोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको छातामुनि ल्याउन कोषले यसअघि नै अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्नेसम्बन्धी कार्यविधि स्वीकृत गरिसकेको छ।  कार्यविधिले अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारमा रहेका लाखौँ श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी गराउने बाटो खोलेको हो। 

ट्रेड युनियन सङ्घ सङ्गठनले लामो समयदेखि अनौपचारिक र स्वरोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको दायरमा ल्याउन माग गरिरहेका थिए। नेपालको औपचारिक क्षेत्रका श्रमिकले ३ वर्षदेखि सामाजिक सुरक्षा योजनाबाट लाभ लिन थाले पनि वैदेशिक रोजगारी र विदेशमा स्वरोजगारमा रहेका श्रमिक त्यसबाट बञ्चित थिए। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले पनि वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षामा आवद्ध गराउन पैरवी गरिरहेको थियो। 

नयाँ श्रम स्वीकृति लिनेलाई आजदेखि कोषमा सूचीकृत हुने व्यवस्था अनिवार्य गरिएको छ। हाल दैनिक करिब २ हजार जनाले श्रम स्वीकृति लिने गरेका छन्। श्रम स्वीकृति लिनेले कोषमा १महिनाको योगदान रकम जम्मा गर्नुपर्ने छ। वैदेशिक रोजगारीमा जाने श्रमिकले ६ महिनाको योगदान रकम जम्मा गर्दा १० प्रतिशत छुट पाउने प्रवक्ता पन्थीले बताउनु भयो। विदेशमा रहेका श्रमिकले कोषको वेभसाइटबाट सूचीकरण गरी योगदान रकम जम्मा गर्न सक्नेछन्। 

स्वीकृत कार्यविधिबमोजिम वैदेशिक रोजगारीमा रहेका वा विदेशमा स्वरोजगार रहेका श्रमिकले कम्तीमा आधारभूत पारिश्रमिकको २१ दशमलव ३३ प्रतिशत रकम अर्थात् न्यूनतम २ हजार रुपैयाँ  मासिक रूपमा र अधिकतम त्यसको तीन गुणासम्म कोषमा योगदान गरी सुविधामा सहभागी हुन सक्नेछन्। 

प्रवक्ता पन्थीका अनुसार कोषमा हालसम्म औपचारिक क्षेत्रका ३ लाख ९९ हजार ५ सय ६६ श्रमिक आवद्ध भइसकेका छन्। कोषमा ३० अर्ब ८७ करोड रुपैयाँ योगदान रकम सङ्कलन भएको छ। कोषले योगदानकर्तालाई ३ अर्ब ८१ करोड रुपैयाँ  दाबी भुक्तानी गरेको छ। २०७५ साल मंसिर ११ गतेदेखि योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएको हो। 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *