काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनाबाट एक महिनाभित्र विद्युत् उत्पादन गर्ने गरी काम अन्तिम चरणमा पुगेको छ ।
नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनीका रुपमा रहेको चिलिमे जलविद्युतले बाह्रबिसे नगरपालिका–५ स्थिति आयोजनाको विद्युतगृहको स्विचयार्डबाट सोही नगरपालिका ३ स्थित प्राधिकरणको बाह्रबिसे सबस्टेसन जोड्ने काम भएको हो ।
सबस्टेसनको करिब चार किलोमिटर प्रसारण लाइनमध्ये दुई किलोमिटर लाइन निर्माणमा स्थानीयसँग सहमति जुटेपछि अहिले तार तान्ने काम भइरहेको प्राधिकरणले जनाएको छ । दुई सय २० केभी सिंगल सर्किट प्रसारण लाइनको तार तान्ने काम दशैं अगाडि सकिने भएको छ ।