काठमाडौं। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ। सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेका अनुसार यो रिटमा आज सुनुवाइ हुनेछ ।
आफ्नो दल छाडेका अशोक राईसहित ७ जना सांसदलाई प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिँदा मतदानमा र अरु संसदीय गतिविधिमा रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा अध्यक्ष यादवले आइतबार रिट दायर गर्नु भएको थियो ।
आफ्नो दल छाडेका सांसदले प्रतिनिधिसभा सदस्यको पद गुमाइसकेको दाबी गर्दै यादवले उहाँहरुको मतबाट प्रधानमन्त्रीले विश्वासको मत पाए पनि बदर हुने जिकिर गर्नुभएको छ ।
यसअघि यादवले आफ्नो दल छाडेर गएका सांसद र नेताहरुले दर्ता गरेको नयाँ दल जनता समाजवादी पार्टी दर्ता नगर्न आदेश माग गर्दै सर्वोच्चमा रिट दिनुभएको थियो । सो रिटमा सुनुवाइ गर्दै सर्वोच्चले पार्टी दर्ता प्रक्रिया यथास्थितिमा राख्न निर्वाचन आयोगलाई आदेश दिएको थियो । जसपा नेपालले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिँदै हुनुहुन्छ ।