काठमाडौं । निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवारहरूले आज देखि प्रचार प्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न पाउने निर्वाचन आयोगले जनाएको छ । कात्तिक १७ गतेदेखि मङ्सिर १ गतेसम्म प्रचार प्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न पाउने आयोगको भनाइ छ ।
मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जारी गरिएको निर्वाचन आचारसंहिता, २०७९ बमोजिम जुलुस, आमसभा तथा कोणसभा गर्न पाउने आयोगले स्पष्ट पारेको हो ।
आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ ।
उक्त दफा १३ ९म० मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिनअघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बुधवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सत्ता गठबन्धनका दलहरूले विभिन्न स्थानमा संयुक्त रूपमा चुनावी सभा तथा सम्बोधनका कार्यक्रम राखेका छन् भने साना दलका नेताहरू पनि देशभर चुनावी अभियान शुरू गरेका छन् । चुनावी प्रचारप्रसारको खुल्ला भएसँगै विभिन्न दलका शीर्ष नेताहरू चुनावी अभियान लिएर देशभर अभियान सञ्चालनमा जुटेका छन् ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निर्वाचन आयोगसँग अनुमति लिएर आजदेखि चार दिने अभियान लिएर डडेलधुरा पुग्नुभएको छ ।त्यस्तै, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल चुनावी क्षेत्र गोरखामा रहनुभएको छ भने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिमबाट चुनावी अभियान सञ्चालन गर्दै हुनुहुन्छ ।
आचारसंहिताबमोजिम निर्वाचन प्रचारप्रसारका लागि आमसभा, कोणसभा गर्दा मञ्चको तयारीका लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफैँ वा प्रतिनिधिमार्फत् मतदान सम्पन्न भएको १५ दिनभित्र निर्वाचन कार्यालयमा पेश गर्नुपर्नेछ भने आचारसंहिताबमोजिम दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको र्याली गर्दा बढीमा १० वटा राष्ट्रिय झण्डा प्रयोग गर्न सकिनेछ।
तर कुनै पनि धर्मको नाममा प्रचारप्रसार गर्न गराउन नहुने, उम्मेदवार तथा निजको परिवारलाई कुनै तवरबाट डर, त्रास तथा धम्की दिन नहुने र कुनै साम्प्रदायिक विद्वेष फैलाउने गरी प्रचारप्रसार गर्न वा मत माग्न नहुने प्रावधान आचारसंहितामा रहेका सम्बन्धमा पनि आयोगले स्मरण गराएको छ ।