मुस्ताङ र मनाङमा सेनाको हेलिकोप्टरबाट बिहीबार मतपत्र ढुवानी

काठमाडौं। मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङ र मनाङमा बिहीबार मतपत्र ढुवानी गरिएको छ। निर्वाचन आयोगले नेपाली सेनाको हेलिकोप्टरमा दुवै जिल्लाका दागि मतपत्र, मतदाता परिचयपत्र लगायतका निर्वाचन सामग्री पठाएको हो। प्रत्यक्ष र समानुपातिक तर्फको मतपत्र र अन्य निर्वाचन सामग्री नेपाली सेनाको कडा सुरक्षा निगरानीमा ढुवानी गरिएको हो।

काठमाडौंबाट मतपत्र, मतदाता परिचयपत्र लगायतका निर्वाचन सामग्री पुर्‍याउन आयोगको प्रशासन शाखाका उपसचिव मुकुन्द पोखरेल र आयोगका शाखा अधिकृत बाबुराम कोइराला मुस्ताङ र मनाङमा पुगेका थिए। उनीहरूले मुस्ताङका मुख्य निर्वाचन अधिकृत ईश्वर पराजुली र जिल्ला निर्वाचन कार्यालय मुस्ताङका प्रमुख मदन अर्याललाई मतपत्र, मतदाता परिचयपत्र र अन्य निर्वाचन सामग्री हस्तान्तरण गरेका छन्।

यस्तै मनाङमा जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्मा र मुख्य निर्वाचन अधिकृतको कार्यालयको टोलीलाई मतपत्र, मतदाता परिचयपत्र र निर्वाचन सामग्री बुझाएका छन्। आयोगबाट खटिएका कर्मचारीले पहिला मनाङ र त्यसपछि मुस्ताङमा मतपत्रसहित निर्वाचन सामग्री पठाएको हो। मुस्ताङमा ३९ मतदान केन्द्र तोकिएको छ। मुस्ताङका पाँच स्थानीय तहको २५ वडामा १० हजार ९५७ जना मतदाता छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *