काठमाडौं। ब्याजदर तत्काल घटाउन सरकारसँग माग गर्दै आएका उद्योगी, व्यवसायीहरूले सडक आन्दोलन सुरु गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा उद्योगी–व्यवसायीहरूले शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा बैंक तथा वित्तिय संस्थाहरूले ब्याजदर दोब्बर गरेर आतंक फैलाएको भन्दै मौन विरोध प्रर्दशन गरेका हुन् ।
उनीहरूले मुलुकको उद्योग, व्यवसायलाई बचाउनका लागि एक अंकको ब्याजदर कायम गर्न र तत्कालका लागि लिलामी गर्ने नीतिगत व्यवस्था खारेज गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । विगत ६ महिना यतामात्रै ब्याजदर दोब्बर वृद्धि गरेर आफूहरू मारमा परेकाले सरकारकाविरुद्ध सडक आन्दोलन सुरु गर्न बाध्य हुनुपरेको महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले बताए ।
विरोध प्रर्दशनमा महासंघ अन्तरगतका सबै उद्योगी, व्यवसायीहरू सहभागी भएका थिए । उनीहरूले सेवा शुल्क कम गर्न, ब्याजदरमा स्थिरता कायम गर्न, एक अंक भन्दा बढी ब्याजदर नराख्न माग गर्दै प्ले कार्डहरू पनि प्रर्दशन गरेका थिए । महासंघले ब्याजदर घटाउनेलगायत माग राखेर अर्थमन्त्री जनार्दन शर्मा, नेपाल राष्ट्र बैंकलाई पनि ध्यानाकर्षण पत्र बुझाउने जनाएको छ ।