काठमाडौं। पपुवा न्युगिनीविरुद्धको दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज नेपालले आफ्नै घरेलु मैदानमा गुमाएनु परेको छ । पपुवा न्युगिनीले शनिबार भएको दोस्रो खेलमा नेपाललाई ३ विकेटले हराएको हो । योसँगै सिरिज नेपालले २–० ले गुमाउन पुग्यो । त्रिवि मैदानमा नेपालले २ सय ७८ रन बनाएर सशक्त ब्याटिङ रहेको पुष्टि गर्यो । तर, यो ठूलो लक्ष्य पाहुना टिम पपुवा न्युगिनीले ७ विकेट गुमाएर भेटायो ।
नेपालको बलिङ जम्न नुसक्नु र नेपाली बलरविरुद्ध पपुवा न्युगिनीका ओपनर ब्याटर लेगा सियाकाले शानदार ब्याटिङ पस्कनु नै हारको कारण बन्यो । उनले १ सय २ बलको सामना गरेर ९० रनको योगदान दिए । उनको विजयी प्रदर्शनमा १२ चौका र १ छक्का पनि सामेल थिए ।
नेपाली बलरले पहिलो दुई ओभर मात्रै उत्कृष्ट बलिङ गर्नुका साथै बलिङ इनिङतर्फ दोस्रो ओभरमा सोमपाल कामीले दोस्रो र तेस्रो बलमा विकेट लिएर घरेलु टिमलाई राम्रो शुरुवात दिलाएका थिए । यति नै नेपालको लागि खुशीको क्षण रह्यो । यसपछि भने पपुवा न्युगिनीले नेपाली बलरमाथि दवाव बनाउँदै रन बटुलेको थियो । ‘प्लेयर अफ द म्याच’ सियाकाले दुई शानदार साझेदारी गर्दै टिमको स्कोर १ सय ८८ रनसम्म पुर्याए ।
सियाका एकदिवसीय करियरको दोस्रो शतक हान्ने तरखरमा रहँदा आउट भएका थिए । उनलाई पवन शर्राफले क्लिन बोल्ड गर्दा नेपालको लागि राहत मिलेको पनि थियो । तर, मध्यक्रमका ब्याटर रिले हेल्कुरेले नेपाललाई खेलमा फर्कनै दिएनन् । नटआउट रहँदै ४८ रन बनाएर हेल्कुरेले नेपालको लागि हार निर्धारित गरिदिए