काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ को उद्घाटन खेलमा आयोजक कतार र इक्वेडरबीच प्रतिस्पर्धा हुने भएको छ । पहिलो दिन एउटा मात्र खेल हुने विश्वकप २०२२ को फाइनल खेल पुस ३ गते आइतबार नेपाली समय अनुसार राति पौने ९ बजे सुरू हुनेछ । समूह ए मा रहेका कतार र इक्वेडर बीचको खेल मंसिर ४ गते आइतबार नेपाली समय अनुसार राति पौने १० बजे अल बायत स्टेडियममा हुनेछ ।
कतार विश्वकपमा ३२ टोलीको सहभागिता रहनेछ । समूह चरणमा एक दिनमा ४ खेल हुनेछन् । समूह चरणको खेल १२ दिनसम्म मंसिर ४ देखि १६ सम्म हुनेछ । यसअघि जुन र जुलाईमा विश्वकप फुटबल हुँदै आएको थियो । तर कतारमा अत्यधिक गर्मी हुने भएकोले आयोजकले पहिलो पटक विश्वकप नोभेम्बर–डिसेम्बरमा गर्न लागेको हो ।
समूह चरणका खेलहरु चार फरक समयमा सुरु हुनेछन् ।
समूह ‘ए’ मा कतार, नेदरल्यान्ड, सेनेगल, इक्वेडर समूह ‘बी’ मा इङ्ल्यान्ड, अमेरिका, इरान, वेल्स यसैगरी समूह ‘सी’ मा अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड, साउदी अरेबिया समूह ‘डी’ मा फ्रान्स, डेनमार्क, ट्यूनिसिया, अष्ट्रेलिया, समूह ‘ई’ मा स्पेन, जर्मनी, जापान, कोष्टारिका रहेका छन् ।
यस्तै समूह ‘एफ’ मा बेल्जियम, क्यानडा, क्रोएसिया र मोरक्को रहेका छन् भने समूह ‘जी’ मा ब्राजिल, स्वीटजरल्यान्ड, सर्बिया, क्यामरून समूह ‘एच’ मा पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया र घाना रहेका छन् ।