मंसिर ४ पछि नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार बन्ने दाबी

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले मंसिर ४ पछि नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार बन्ने गर्नुभएको छ । 

नेपाल प्रेस युनियन मकवानपुरले मंगलबार बिहान हेटौँडामा गरेको पत्रकार सम्मेलनमा महतले आगामी सरकारको नेतृत्व काँग्रेसले गर्ने बताउनुभयो । ९१ स्थानमा एक्लै चुनावी प्रतिस्पर्धामा रहेको कांग्रेस सबैभन्दा ठूलो दल बन्ने प्रवक्ता महतको दाबी थियो । 

‘प्रत्यक्षतर्फको १६५ सिटमध्ये ९१ सिटमा एक्लै कांग्रेसले प्रतिस्पर्धा गरिरहेको छ। स्वाभाविक रूपमा गठबन्धनका कारण नेपाली कांग्रेसका उम्मेदवारहरू अधिकांश स्थानमा विजयी हुन्छन् र नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्छ,’ महतले भन्नुभयो । 

उहाँले लोकतन्त्र र संविधान रक्षाको लागि एकैठाउँमा उभिएका दलहरूले नै आगामी सरकार बनाउने बताउनुभयो । सरकारको नेतृत्व कांग्रेसले गर्ने र कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने उहाँको दाबी थियो । उहाँले माओवादीका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीमा दाबी गरेकोबारे अनभिज्ञता व्यक्त गर्नुभयो । 

महतले सरकारको नेतृत्व कसले गर्ने भन्नेबारेमा गठबन्धनमा कुनै छलफल र सहमति भने नभएको प्रष्ट पार्नुभयो । 

उहाँले वर्तमान गठबन्धन कसैलाई हराउन नभई लोकतन्त्र र संविधानको रक्षाका लागि बनेको जिकिर गर्नुभयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *