काठमाडौं। पछिल्लो पाँच दिनदेखि लगातार घटिरहेको शेयर बजार आज हप्ताको पहिलो दिन पनि दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार १० दशमलव ५४ अङ्कले घटेर एक हजार आठ सय ८३ दशमलव १६ विन्दुमा झरेको छ । होटल समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर घटेर बजार राताम्मे देखिएको छ ।
आज दुई सय २५ वटा कम्पनीको २० लाख २८ हजार कित्ता शेयर ७७ करोड ४९ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको १० करोड ३९ लाख रुपैयाँको शेयर किनबेच भयो । आज नबिल ब्यालेन्स फन्ड–२ र निर्धन उत्थान लघुवित्तको शेयर ६ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि आज सबैभन्दा धेरै लक्ष्मी इक्विटी फन्डको शेयर झण्डै सात प्रतिशतले बढेको छ ।