काठमाडौं । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्यांक अनुसार साउनयता डेंगी संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ भने संक्रमितको संख्या ५१ हजार ४४६ पुगेको छ।
अक्टोबरयता देशभर डेंगी संक्रमितको संख्या ओरालो लागेको महाशाखाको तथ्यांकले देखाउँछ । सेप्टेम्बरमा २७ हजार ५२९ जना संक्रमित थपिएकोमा अक्टोबरमा यो संख्या १४ हजार ६४६ मा झरेको थियो । नोभेम्बरका १२ दिनमा एक हजार ४३५ जना संक्रमित थपिएका छन् ।
काठमाडौं उपत्यकासहित चिसो बढ्दै गएका जिल्लामा संक्रमितको संख्या घट्दै गए पनि तराईका जिल्लामा २० डिग्री सेल्सियसभन्दा बढी औसत तापक्रम रहेकाले जोखिम अझै कायमै रहेको महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा। गोकर्ण दाहालको भनाइ छ । संक्रमित लामखुट्टे एक महिनासम्म बाँच्ने भएकाले अहिले संक्रमण सारिरहेका लामखुट्टेले नोभेम्बर महिनाभर संक्रमण गराउनसक्ने भएकाले सतर्कता अपनाउन डा। दाहालको सुझाव छ ।