चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आर्थिक वर्ष २०७९/०८० को पहिलो चार महिनामा ८६ हजार छ सय ४३ पयर्टकले अवलोकन भ्रमण गरेका छन् । वन्यजन्तु अवलोकनका लागि देशको मुख्य पर्यटकीय गन्तव्यका रूपमा रहेको निकुञ्जमा भ्रमण गर्ने पर्यटकमध्ये सबैभन्दा धेरै नेपाली पर्यटक रहेका निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो।
उहाँका अनुसार पहिलो चार महिनामा निकुञ्ज घुम्न आउने पर्यटकमध्ये ६५ हजार पाँच सय २९ नेपाली, सार्क मुलुकका सात हजार सात सय ८६ र अन्य मुलुकका १३ हजार तीन सय २८ जना रहेका छन् । कोरोना कहर सामान्य हुँदै गर्दा निकुञ्जमा विदेशी पर्यटकको आउजाउ बढेको यो विवरणले देखाउँछ ।
दसैँ तिहारलगायतका चाडपर्वपछि पनि पर्यटकको सङ्ख्या बढेको पूर्वी नवलपरासीको लामीचौर उपभोक्ता समितिका अध्यक्ष वासुदेव पौडेलले बताउनुभयो । घुम्न आउनेको सङ्ख्या बढ्दै गएपछि निकुञ्ज आसपासका होटल व्यवसायीसमेत उत्साही भएका छन् । अमलटारीमा होमस्टे सञ्चालन गर्दैै आउनुभएका छन्नुराम महतो आन्तरिक बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएकाले व्यवसायीमा समेत उत्साह थपिएको बताउनुहुन्छ ।
यसैबीच निकुञ्जले आर्थिक वर्षको चार महिनाको अवधिमा रु पाँच करोड ९८ लाख ६२ हजार नौ सय २१ राजस्व सङ्कलन गरेको सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो । निकुञ्जले सबैभन्दा धेरै पर्यापर्यटनबाट रु पाँच करोड १५ लाख ४८ हजार तीन सय ५० राजस्व सङ्कलन गरेको हो । त्यस्तै यो अवधिमा निकुञ्जले दण्ड सजायबाट रु ५१ लाख ८६ हजार पाँच सय ४४ राजस्व सङ्कलन गरेको तिवारीले जानकारी दिनुभयो ।