काठमाडौं। चालु आर्थिक वर्षको तीन महिनामा रेमिटेन्स गत आर्थिक वर्षको यही अवधिको तुलनामा १६.८ प्रतिशतले वृद्धि भएको छ। गत आर्थिक वर्षको तीन महिनामा दुई खर्ब ४० अर्ब रेमिटेन्स आएकोमा यसपटक दुई खर्ब ८१ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको हो।
साउनमा ९२ अर्ब २० करोड, भदौमा ९४ अर्ब ८३ करोड र असोजमा ९४ अर्ब एक करोड रूपैयाँ रेमिटेन्स भित्रिएको छ। डलरको भाउ बढेको कारण पनि रेमिटेन्सको वृद्धि उच्च देखिएको छ। यो अवधिमा एक अर्ब ८८ करोड बराबर प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको भएपनि एक अर्ब ८० करोड रूपैयाँ नै फिर्ता गएको छ।
यो तीन महिनामा शिक्षाको लागि बाहिरीएको रकममा समेत शतप्रतिशत वृद्धि देखिएको छ। यो अवधिमा यसरी बाहिरीएको रकम १७ अर्ब ८८ करोड रूपैयाँ पुगेको छ। पर्यटकको आगमनमा वृद्धि हुन थालेसँगै यसबापत हुने आम्दानीमा समेत एक सय १० प्रतिशतले वृद्धि भएको छ। यो अवधिमा पर्यटकहरूबाट ११ अर्ब ४० करोड रूपैयाँ आम्दानी भएको छ।
आयातमा गरिएको कडाइसँगै विदेशी मुद्रा सञ्चितिमा भने सुधार देखिन थालेको छ। गत वर्षको असोजमा गत असारमा १२ खर्ब १५ अर्ब रहेको विदेशी मुद्राको सञ्चिति यस असोजमा १२ खर्ब ४६ अर्ब पुगेको छ। अझै पनि यो सञ्चिति अघिल्लो वर्षको यही अवधिको तुलनामा भने कम हो। अघिल्लो वर्ष असोजमा यस्तो सञ्चिति १३ खर्ब १९ अर्ब रूपैयाँ थियो। भदौमा यस्तो सञ्चितिले सात महिना २१ दिनको वस्तु तथा सेवा आयात धान्न पुग्ने अवस्था रहेकोमा असोजमा भने यस्तो सञ्चितिले आठ महिना नौ दिनलाई धान्ने देखिन्छ।
यो अवधिमा आयात १६.२ प्रतिशतले घटेर चार खर्ब रूपैयाँ पुगेको छ। गत वर्षको यही अवधिमा चार खर्ब ७८ अर्ब रूपैयाँको आयात भएको थियो। यो अवधिमा निर्यात समेत ३५।७ प्रतिशतले घटेर ४१ अर्बमा सीमित भएको छ। यसअघि यस्तो निर्यात ६५ अर्ब थियो।