ओली नेतृत्वमा सरकार बन्ने‍ कुनै सम्भावना छैन, ओलीलाई जनताले कारबाही गर्नुपर्छ: अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावपछि केपी ओली नेतृत्वमा सरकार बन्ने‍ कुनै सम्भावना नरहेको बताउनु भएको छ। कोटेश्वरमा आयोजित चुनावी सभामा उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावबाट बहुमत ल्याएपनि मतको उपयोग नगरेकाले ओलीलाई जनताले कारबाही गर्नुपर्ने बताउनु भएको हो।

नेपालले भन्नुभयो, ‘२०७४ सालको निर्वाचनमा एमाले र माओवादी केन्द्रका कारण दुई तिहाइ आएको थियो। नत्र त्यति धेरै मत आउने थिएन। केपी ओलीले झण्डै दुई तिहाइ बहुमतको दुरुपयोग गरे। जनमतलाई अवहेलना गरेका कारण जनताले केपी ओलीलाई सजाय दिनै पर्छ। ’

नेपालले ओलीप्रति लक्षित गर्दै गफाडीलाई मत दिए देश डुब्ने बताउनु भयो। नेपालले भन्नुभयो, ‘केपी ओलीको गठबन्धन प्रतिगामी छ। राजावादीसँग गरेको गठबन्धनलाई जनताले कारबाही गर्नैपर्छ, अहिलेको सरकारलाई सर्वोच्च अदालतको आदेशबाट बनेको भनेर प्रचार गरिएको छ। राष्ट्रपतिले संसदको अपमान गरेकै कारण सर्वोच्चमा पुग्नु परेको हो। स्वयम् राष्ट्रपतिबाट संसद र सांसदको अपमान गर्ने काम भएको छ।’

नेपालले काठमाडौं(२ मा गठबन्धनको सानदार जित हुने बताउनु भयो। नेपालले भन्नुभयो,‘ सूर्यमा ग्रहण लागिसकेको छ। त्यसैले यो निर्वाचन क्षेत्रमा जनतासँग घुलमिल गर्ने ओनसरी घर्तीलाई मत दिनुस्।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *