काठमाडौं। अफगानिस्तानमा छोरीहरुको लागि माध्यमिक तहको विद्यालय खुला गर्न माग गर्दै प्रदर्शन भएको छ। झण्डै दुई दर्जन प्रदर्शनकारीहरूले शनिवार बिहान तालिवानको शिक्षा मन्त्रालय नजिक भेला भएर छोरीहरूको लागि माध्यमिक विद्यालयहरू फेरि खोल्न आग्रह गर्दै प्रदर्शन गरेका छन्।
किशोरीहरु नयाँ शैक्षिकसत्रको सुरुवातमा विद्यालय फर्किएको केही घण्टामै तालिबानले विद्यालय बन्द गर्न आदेश दिएको थियो। तालिबानको यो कदमको विश्वभर आलोचना गरिएको छ।
सशस्त्र तालिबान सदस्यहरूको निगरानीका बिच प्रदर्शनकारीहरूले ‘शिक्षा हाम्रो अधिकार हो छोरीहरुको लागि विद्यालयका ढोका खोल’ लगायतका नारा लगाएका थिए।
प्रदर्शनमा सहभागी एक शिक्षिकाले भनिन्, ‘स्वतन्त्रता र विद्यालय जान चाहने छोरीहरूको लागि म मर्न पनि तयार छु।’हाम्रा छोरीहरूको शिक्षाको अधिकारका लागि हामी यहाँ उपस्थित भएका छौँ। त्यो अधिकारबिना हामी मरेतुल्य हुनेछौँ,’ उनले थपिन्।
तालिबानले यसअघिका प्रदर्शनहरुमा हस्तक्षेप गरेको थियो भने त्यसमा संलग्नहरूलाई हिरासतमा लिएको थियो। तर, यस अवसरमा भने उसले विरोध प्रदर्शनलाई जारी राख्न अनुमति दिएको थियो।
तालिबानले गत अगस्टमा सत्ता हातमा लिएपछि देशका अधिकांश भागमा सबै केटाका विद्यालयहरूसहित केटीहरूको प्राथमिक विद्यालयहरू खुल्ला छन्। तर, माध्यमिक तहका किशोरीहरूलाई कक्षाकोठामा फर्कन अनुमति दिइएको छैन।