गोरखा। गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल भारी मतले विजयी हुनुभएको छ। बिहीबार बिहान सम्पन्न भएको मतगणनाको अन्तिम मतपरिणाम अनुसार अध्यक्ष दाहालले २६ हजार १०३ मत ल्याएर विजयी हुनुभएको हो ।
उहाँले आफ्ना निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटीलाई १३ हजार ४६६ मतले पछाडि पार्दै विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बुर्लाकोटीले कुल १२ हजार ६३७ मत प्राप्त गर्नुभएको छ ।
दाहालको प्रतिस्पर्धामा आउने आँकलन गरिएका नेपाल कम्युनिष्ट पार्टी एमालेका अब्दुस सलाम मियाँ भने तेस्रो स्थानमा रहनुभएको छ । उहाँले सात हजार तीन सय ९३ मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत शिव रेग्मीले जानकारी दिनुभयो । गोरखा क्षेत्र नम्बर २ मा कुल ५३ हजार ९७८ मत खसेको थियो ।