काठमाडौं । सोमबार बिहान बसेको जिल्ला निर्वाचन व्यवस्थापन समितिको बैठकले दोलखामा रद्द भएका १० केन्द्रमा यही बिहीबार १५ गते पुनः मतदान गराउने निर्णय गरेको छ। यसअघि निर्वाचन आयोगले मंसिर १५ भित्र निर्वाचन गराइसक्न मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो। मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बैठकको निर्णयसँगै सोमबारदेखि नै निर्वाचनको तयारी थालेको जानकारी दिनुभयो।
यही मंसिर ४ गते भएको मतदानका क्रममा ‘बुथ क्याप्चर’ भएको भन्दै नेकपा एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी गर्नुभएको थियो। यससँगै आयोगको टोलीले गएर स्थलगत अध्ययन गरी पुनः मतदान गराउनुपर्ने निष्कर्ष निकालेको थियो।