काठमाडौं । मुस्ताङबाट यस वर्ष रु ५० करोड मूल्य बराबरको स्याउ निकासी भएको छ । मुस्ताङमा उत्पादन भएको छ हजार ६०० मेट्रिक मध्ये ७० प्रतिशत अथवा चार हजार ६२० मेट्रिक स्याउ निकासी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत भदौमा प्रतिकिलो रु १०० का दरले बिक्री भएको मुस्ताङको स्याउको मूल्य मङ्सिरको पहिलो साता आइपुग्दा प्रतिकिलो एकसय २० देखि ३० सम्मभएको छ । सरदर प्रतिकिलो रु ११० का दरले स्याउ बिक्री भएको कृषकहरुले बताएका छन् ।
यस अनुसार निकासी भएको स्याउको मूल्य रु पचास करोड ८२ लाख हुन आउँछ केन्द्रका प्रमुख प्रकाश बस्ताकोटीले गत वर्षका तुलनामा यसपाली १८.५६ प्रतिशतले स्याउ उत्पादन बढेको जानकारी दिनुभयो । “बगैँचामा पुगेर क्रप कटिङ र सोधपुछ गर्दा उत्पादन बढेको पाइयो,” उहाँले भन्नुभयो “अनुकुल मौसमले उत्पादकत्व, क्षेत्रफल र नयाँ विरुवा थपिएकाले उत्पादन बढेको हो ।”कूल ५८० हेक्टर जमिनमा लगाइएको स्याउ बोटले उत्पादन दिएको छ ।
जिल्लाको पाँचवटै स्थानीय तहमा एक हजार ४ सय ७५ हेक्टर जमिनमा स्याउ खेती गरिएको छ । क्रप कटिङ सर्वेक्षण गर्दा जिल्लामा प्रतिहेक्टर ११.३७ मेट्रिकटन स्याउ उत्पादन हुने पाइएको प्रमुख बस्ताकोटीले बताउनुभयो ।
यसैगरी जिल्लामा कुल स्याउ उत्पादन मध्ये यसवर्ष ४ सय ४० मेट्रिकटन उच्च घनत्व प्रविधिमा आधारित स्याउको उत्पादन भएको छ । जिल्लामा ३८ हेक्टर जमिनमा उच्च घनत्व प्रविधिमा आधारित स्याउ खेती गरिएको छ । तीमध्ये २२ हेक्टरका बगैंचाले उत्पादन दिइरहेका छन् ।
यो स्याउ प्रतिहेक्टरमा लगाइएको बोटमा करिब २० टनसम्म स्याउ उत्पादन हुने गरेको छ । नयाँ स्याउ बगंैचाका बोटबाट स्याउ उत्पादन सुरु हुन थालेको, किसानले बगैंचा व्यवस्थापनमा ध्यान दिन थालेको र स्याउका लागि अनुकूल मौसम भएकाले उत्पादनमा राम्रो भएको केन्द्रले जनाएको छ ।
समुन्द्री सतहदेखि करिब २५ सय मिटर अग्लो उचाई भन्दा माथि स्याउ खेती गरिन्छ । मुस्ताङको चिसो हावापानी र हिउँले सिञ्चित यहाँको स्याउ गुणस्तरीय तथा स्वादिलो हुनेगर्छ । जिल्लाका पाँचवटै स्थानीय तहमा स्थानीय रेडडेलिसियस, रोयल डेलिसियस, रिचारेड डेलिसियस र गोल्डेन डेलिसियस जातका स्याउ खेती भएको छ । उत्पादन भएको ८० प्रतिशत स्याउ देशका विभिन्न सहरमा निकासी हुन्छ । मुस्ताङ घुम्न जाने पर्यटक, तिर्थयात्रीहरुले स्याउ कोशेलीका रुपमा लैजान्छन् । साना दाना भएका बजारमा बिक्री नभएको स्याउलाई कृषकहरुले ब्रान्डी, जुस, जाम, सुकुटी बनाउँछन् । स्याउ प्रशोधन गरेर मदिरा बनाउने छ उद्योग छन् ।