काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो तीन महिनामा साढे आठ अर्ब रुपैयाँ नाफा कमाएको छ ।
चालू आवका साउन, भदौ र असोजसम्मको वित्तीय विवरण अनुसार, प्राधिकरणले यस अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्य आम्दानीबाट ३२ अर्व ९८ करोड रुपैयाँ आम्दानी गरेको छ । आवको पहिलो तीन महिनामा २४ अर्ब ४८ करोड खर्च गरी प्राधिकरणले आठ अर्ब ५० करोड रुपैयाँ नाफा कमाएको हो ।
सूचनाको हकसम्बन्धी कानुनमा भएको व्यवस्थाबमोजिम सार्वजनिक गरिएको चालू आवको तीन महिनामा सम्पादित प्रमुख क्रियाकलापहरू समेटिएको विवरणअनुसार, प्राधिकरणले यस अवधिमा निजी क्षेत्रबाट १४ अर्ब १५ करोड रुपैयाँको विद्युत खरिद गरेको छ ।
आफ्नो स्वामित्वमा रहेका विद्युतगृहरूबाट उत्पादित र निजी क्षेत्रबाट खरिद गरिएको विद्युत देशभित्र बिक्री गरी खुद २२ अर्ब २० करोड रुपैयाँ आम्दानी भएको छ । देशभित्र खपत गरी बढी भएको विद्युत भारतीय प्रतिस्पर्धी बजारमा बिक्री गरी आवको पहिलो तीन महिनामा ६ अर्ब १७ करोड रुपैयाँ आम्दानी भएको छ ।
आव २०७२र७३ मा आठ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरूमा निरन्तर नाफामा छ । आव २०७६र७७ मा ११ अर्ब ७५ करोड रुपैयाँ पुगेको प्राधिकरणको नाफा आव २०७७/७८ मा घटेर ६ अर्ब नौ करोडमा सीमित भएको थियो । गत आव २०७८/७९ मा प्राधिकरणले नाफालाई बढाएर १६ अर्ब १६ करोड रुपैयाँ पुर्याएको थियो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चुहावट नियन्त्रण, आन्तरिक रूपमा तथा भारतर्फको विद्युत निर्यात बढ्दा आम्दानीमा भएको वृद्धि, खर्च नियन्त्रणलगायतले गर्दा चालू आवको पहिलो तीन महिनामा उल्लेख्य नाफा कमाउन सफल भएको बताउनुभयो । उहाँले नाफाबाट प्राप्त रकमलाई विद्युत खपत बढाउन, उपभोक्तालाई भरपर्दो र गुणस्तरीय विद्युत उपलब्ध गराउन प्रसारण र वितरणतर्फको पूर्वाधार विस्तार तथा सुदृढीकरणमा खर्च गरिएको उल्लेख गर्नुभयो ।