ए डिभिजनका क्लबहरुले असन्तुष्टि बढ्यो

काठमाडाैं । आसन्न शहिद स्मारक ए डिभिजन लिगको तयारीको सन्दर्भमा अखिल नेपाल फुटबल संघ (एन्फा) सँग ए डिभिजनका क्लबहरुले असन्तुष्टि जनाएका छन् ।

पुस १४ गतेबाट सञ्चालन गर्ने निर्णय गरिएको शीर्ष डिभिजनको लिगको तयारीमा फुटबल संघ गम्भिर नबनेको भन्दै ए डिभिजनका क्लबले असन्तुष्टि जनाएका हुन् । लिगको तयारी खर्च वापतको ५० प्रतिशत रकम मंसिर १५ गतेभित्र उपलब्ध गराउने पूर्व सहमती एन्फाले पालना नगरेको क्लबहरुको आरोप छ ।

एन्फाले लिगको तयारी खर्च वापत ए डिभिजन क्लबलाई प्रति क्लब ३२ लाख ५० हजार रुपैयाँ दिने निर्णय गरेको थियो । सो वापतको आधा रकम मंसिर १५ भित्र किस्तामा भुक्तानी गर्ने एन्फा र क्लबबीच सहमती बनेको थियो ।

क्लबहरुले एन्फासँग गत सिजनको तयारी खर्च, पुरस्कार वापतको रकम पनि पाउन बाँकी छ । तर पूर्व सहमती अनुसार एन्फाबाट मंसिर १६ गतेसम्म समेत क्लबले तयारी खर्च नपाएपछि लिगको तयारीको सन्दर्भमा क्लबहरुले असन्तुष्टि जनाएका छन् । आसन्न लिगको सन्दर्भमा ए डिभिजनका अधिकांश क्लब शनिबार साँझ अनौपचारिक छलफलमा जुटेका थिए ।

एन्फाको झुठो आश्वासनले लिगनै अन्यौलमा पर्ने देखिएको भन्दै क्लबहरुले फुटबल संघको गम्भिर ध्यानाकर्षण गराउने सहमती जुटाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *