तीन महिनापछि पुनः रेबिज देखा

काभ्रेपलाञ्चाेक । तीन महिनापछि पुनः रेबिज रोग देखापरेको छ । जिल्लाको दक्षिणी क्षेत्र डाँडापारिस्थित महाभारत गाउँपालिकाको पशुमा रेबिज रोगको सङ्क्रमण देखिएको हो । यसअघि गत भदौमा भुम्लु गाउँपालिकामा रेबिज रोगका कारण एक महिनाको अवधिमा चार दर्जनभन्दा बढी पशुचौपायाको मृत्यु भएको थियो ।

महाभारत गाउँपालिकामा मरेका दुई गाईमा रेबिज रोग पुष्टि भएपछि स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ । केही दिनअघि महाभारत–१ गोकुले र ८ नं वडास्थित घर्तीछापमा कुकुरको टोकाइबाट दुई गाई मरेका थिए । वडा नं १ का अध्यक्ष कान्छामान जिम्बाका अनुसार कुकुरले टोकेका गाईको मृत्यु भएपछि परीक्षण गर्दा रेबिज रोगबाट मरेको पुष्टि भएको हो ।

वडाध्यक्ष जिम्बाले गाउँपालिकाको कुनै स्थानमा शङ्कास्पद कुकुर देखिएमा नियन्त्रण गर्न तथा वडा वा गाउँपालिकाको कार्यालयमा तत्काल जानकारी गराउन आग्रह गरिएको बताउनुभयो । उहाँले आवश्यकताअनुसार रेबिजविरुद्धको सुईको व्यवस्थापन गरी तत्काल शिविर सञ्चालन गरिने जानकारी दिनुभयो । गाउँपालिकाका देखिएको रेबिज रोगप्रति जिल्ला स्वास्थ्य कार्यालय र जिल्लास्थित भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले आवश्यक अनुसन्धान तथा आवश्यक सामग्री सहयोगको व्यवस्थापन भइरहेको जनाएका छन् ।

कार्यालयका प्रमुख डा पुरुषोत्तम सेढाईंले महाभारतमा थप रेबिज फैलन नदिन केन्द्रसँगको समन्वयमा तत्काल ‘एक्सन’मा जाने बताउनुभएको छ । केन्द्रका पशु चिकित्सक राजकुमार हुमागाईले पनि महाभारतमा देखिएको रेबिज रोग थप फैलन नदिन तथा रोकथामका उपाय अपनाइने बताउनुभयो । उहाँका अनुसार घटनाक्रमले जिल्लामा रेबिज रोगको सङ्क्रमण केही वर्षनै रहिरहने देखिएको छ । 

यसअघि गत भदौमा भुम्लु गाउँपालिकाको १ नं वडास्थित सापिङ, कात्तिके, आरनगाउँ, भारतीगाउँ, गैराटोल, बोक्से र खोलमबारीका २८९ जनालाई स्वास्थ्य कार्यालयले रेबिजविरुद्ध खोप लगाइएको थियो । स्थानीय १९ परिवारका ५१ जनाले कुकुरले टोकेर मरेका भैँसी तथा खसी, बोका काटेर मासु खाएपछि तथा अन्य शङ्कास्पद व्यक्तिलाई खोप लगाउनुपरेको थियो । त्यतिबेला एक महिनाको अवधिमा करिब चार दर्जनभन्दा बढी पशुचौपाया मरेको तर कुनै मानवीय क्षेत नभएको केन्द्रले जनायो । 

शतप्रतिशत प्राणघातक मानिएको उक्त रोगबाट छिमेकी गाउँपालिका चौँरीदेउराली–६ मा गत वर्ष एक महिनाको अवधिमा एक आठ वर्षीय बालक र दुई पुरुषको मृत्यु भएको थियो । त्यसयता काभ्रेमा रेबिजका कारण मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । एक वर्षअघि चौँरीदेउरालीमा रेबिजबाट मानिसको मृत्यु भएपछि केन्द्रले सामुदायिक तथा छाडा कुकुरसँग सावधानी अपनाउन आग्रह गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *