हिउँद याम सुरु भएसँगै वायु प्रदूषणमा वृद्धि

काठमाडौं । हिउँद याम सुरु भएसँगै वायु प्रदूषण बढिरहेको छ । तर त्यसको मापन गर्न देशभर जडित २७ स्टेसन मध्ये २० वटा प्रयोगविहीन बनेका छन्। मर्मत सम्भार र स्पेयर पार्टस् अभावमा ती स्टेसन महिनौंदेखि प्रयोगविहीन भएका हुन्।

नेपालमा सन् २००२ देखि वायु प्रदूषण मापनका प्रयासहरू सुरु भए पनि सन् २०१७ देखि उपत्यका र धुलिखेलमा ७ र देशका विभिन्न स्थानमा जडान गरिएका २० समेत गरी कुल २७ मापन स्टेसनले वायुको गुणस्तर मापन गर्दै आएका थिए। सरकारी स्तरमा बाहेक अमेरिकी दूतावासले आफ्नो कार्यालभित्र र फोहोरा दरबारमा दुई वटा वायु प्रदूषण मापन स्टेसन सञ्चालन गरिरहेको छ।

यी स्टेसनहरूले उपलब्ध गराउने वास्तविक समयका तथ्यांक (रियल टाइम डाटा) ले सम्बद्ध स्थानको वायु प्रदूषणको स्तर यकिन गर्न, त्यसलाई रोक्न आवश्यक नीति तथा कार्यक्रमको तर्जुमा गर्न तथा नियामक निकायलाई आवश्यक पहलकदमी लिन सहयोग गर्छन्।

वायु प्रदूषणले मानव स्वास्थ्यमा गम्भीर प्रभाव पार्ने भएकाले यी स्टेसनले उपलब्ध गराउने वैज्ञानिक तथ्यांकले जनस्वास्थ्यमा पर्न सक्ने प्रभावको आकलन गर्न सहयोग पुर्‍याउँछ। वायु प्रदूषणको हिसाबले विश्वकै प्रदूषित सहरको अग्रणी सूचीमा राजधानी काठमाडौं पर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *