सर्लाही । जिल्लाका किसान केही वर्षदेखि आफूले लगाइरहेको उखु मासेर तोरी खेतीतर्फ आकर्षित भएका छन् । तीन÷चार वर्षयता जिल्लाको लालबन्दी, हरिवन, बागमती, ईश्वरपुरलगायतका ठाउँका उखु उत्पादक किसानले आफ्नो खेतबारीमा उखु मासेर तोरीसहितको अन्नबाली बढाउँदै लगेका छन् । उखु खेतीमा लगानी गरेर लगानीसमेत नउठेपछि तोरी खेतीतर्फ लागेको हरिवन नगरपालिका–८ का किसान हरि निरौलाले बताउनुभयो ।
“उखुमा लगानीअनुसारको मूल्य छैन, यताका सबैजसो उखु उत्पादक किसानले अहिले उखु मासेर तोरी, परबल, बोडी, मास, धान, मकै र कोदोजस्ता परम्परागत अन्नबाली लगाउन थालेका छन्”, निरौलाले बताउनुभयो । दुई दशकअघिसम्म तोरी खेतीमा अब्बल मानिने जिल्लामा केही वर्षदेखि उखु खेतीप्रतिको आकर्षण बढेको थियो । तर वर्षभरि लगानी गरेर उत्पादन भएको उखु बिक्री गरेको रकम उद्योगले भुक्तानी नगर्दा दिक्दार भएका जिल्लाका उखु उत्पादक किसान अन्य खेतीतर्फ मोडिएका हुन् ।
सरकार, उद्योगी र किसान प्रतिनिधिबीच भएको सहमतिअनुसार उद्योगीले प्रतिक्विन्टल रु पाँच सय २० र नेपाल सरकारले रु ७० अनुदान रकम दिने सहमति गरिएपनि उद्योगले सहमतिअनुसारको रकम भुक्तानी नगरेकाले आफूहरु उखु छोडेर तोरी, परबल, बोडी, मास, धान, मकै र कोदोजस्ता परम्परागत अन्नबाली लगाउन थालेको हरिवन नगरपालिका–२ का किसान रामपुकार महतोले बताउनुभयो ।
उहाँका अनुसार जिल्लामा रहेका तीनवटा चिनी मिल मध्ये इन्द शङ्कर चिनी उद्योगबाहेक अरु उद्योगले किसानको रकम भुक्तानी गरेका छैनन् । महालक्ष्मी र अन्नपूर्ण चिनी उद्योग उखु अभावले गर्दा बन्दजस्तै अवस्थामा छन् । जिल्लामा देशकै धेरै चिनी मिल भए पनि उखु २५ हजार हेक्टर क्षेत्रमा र धान ४६ हजार पाँच सय हेक्टर क्षेत्रमा खेती हुँदै आइरहेको कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेवप्रसाद कुशवाहले बताउनुभयो ।