काठमाडाैं । ‘हनी-ट्रयाप’ शैलीमा फसाउँदै रकम असुल्ने गिरोहका सदस्यलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएकाे प्रहरी टाेलीले प्रेम सम्बन्धको विश्वासमा पारेर आर्थिक लाभ उठाउन खोज्ने दुई महिला र एक पुरुषलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक (डीएसपी) राजनकुमार गौतमले ‘हनी-ट्रयाप’ शैलीमा फसाउँदै रकम असुल्ने घोराही १० नारायणपुरबाट एक जना पुरुष र तुलसीपुरबाट २ जना महिलालाई पक्राउ पुष्टि गर्नुभयाे ।
उहाँका अनुसार पक्राउ पर्नेमा घोराही-१० नारायणपुरका २७ वर्षीय रुद्रबहादुर केसी, तुलसीपुर १८ ग्वारखोलाकी ३६ वर्षीया कृष्णकुमारी बस्नेत, गढवा-६ घर भई हाल तुलसीपुर बस्दै आएकी ३५ वर्षीया अनुष्का सिंह भनेर चिनिने कृष्णी गहतराज रहेका छन् ।
उहाँले भन्नुभयाे,’पक्राउ परेकाहरुले तुलसीपुरका एक जना व्यवसायीलाई मेसेन्जर र मोबाइलबाट शारीरिक सम्पर्कको प्रस्ताव राखेको र पछि बलात्कार मुद्दा हाल्ने भनी मोटो रकम माग गरेका थिए।’
पीडित भनिएका दाङका ४५ वर्षीय व्यवसायी विवाहित र सम्पन्न परिवारका व्यक्ति हुन् भने आरोपित अनुष्का भनिने कृष्णा गहतराज डिभोर्स भएकी एकल महिला हुन् ।
सामान्य चिनाजानपछि उनीहरु नजिकिँदै गए र व्यक्तिगत सम्बन्ध बन्यो । कृष्णाले सुरुदेखि नै आर्थिक लाभ लिँदै आएकी थिइन् । प्रहरीका अनुसार ती पुरुषले हालसम्म ३० लाख रुपैयाँ दिइसकेका थिए ।
उनीहरुबीचको मोबाइल मेसेज र मेसेन्जरको कुराकानी हेर्दा ५ करोडको बार्गेनिङ गरेको देखिएको अनुसन्धाबाट खुलेकाे उहाँले डीएसपी गाैतमले बताउनु भयाे ।
डीएसपी गौतमका अनुसार पीडितको घर परिवारलाई समेत टर्चर दिन थालेपछि यो घटना प्रहरी कहाँ आइपुगेको हाे। प्रहरीले आरोपित तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।