धरहरा पुनः निर्माणको काम रोकियो

काठमाडौं । ऐतिहासिक धरहरा पुनः निर्माणको काम रोकिएको छ । धरहरा पुनःनिर्माणको क्रममा सुन्धारामा पानी पठाउने मूलधारा नष्ट हुने गरी डोजर चलाइएको भन्दै काठमाडौं महानगरपालिका र स्थानीयले धरहरा पुनः निर्माणको काम तत्कालका लागि रोकेका हुन् ।

महानगरपालिका वडा नं २२ का अध्यक्ष चिनीकाजी महर्जनका अनुसार ऐतिहासिक महत्व बोकेको सुनधारामा पानी पठाउने (काठको लामो पाइप) नष्ट गरी उक्त स्थानमा निर्माण कम्पनीले डोजर लगाएर एक लाख लिटर पानी अट्ने ट्याङ्की निर्माण गर्ने तयारी गरेको थियो । उक्त पाइपलाई नष्ट गरेपछि धरहरा पुनः निर्माणको बाँकी काम रोकिएको हो । त्यसका लागि हरेक दिन अनुगमन गर्ने गरी अनुगमन समिति बनाउने तयारी वडाको रहेको महर्जनले बताउनुभयो ।

मौलिक कला, संस्कृतिको नमूनाका रुपमा रहेको ऐतिहासिक सुनधाराको संरचना पुनःनिर्माणका नाममा भत्काउन नहुने अध्यक्ष महर्जनले जोड दिनुभयो । २०७२ बैशाखमा गएको भूकम्पबाट क्षति पुगेको यस सम्पदाको भूकम्प गएको तीन वर्षपछि मात्रै पुनःनिर्माणको कामले गति लिएको हो । भूकम्पले ढलेको धरहरा पुनःनिर्माण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विधिवत् रुपमा २०७५ पुस १२ गते थालनी गर्नुभएको थियो ।

४२ रोपनी क्षेत्रफलमा निर्माण सुरु गरिएको धरहरा बाहिरबाट हेर्दा ११ तलाको हुने भए पनि भित्र भने २२ तलाको, उचाइ ७२ मिटर र ४८ फिटको बेश रहने छ । नयाँ धरहरामा बगैँचा, सङ्ग्रहालय, रङ्गीन जलफोहरा, प्रदर्शनी हल, पार्किङस्थल, पसललगायत संरचना रहने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us