मोरक्कोलाई हराउँदै क्रोएसिया तेस्रो

काठमाडौं । मोरक्कोलाई हराउँदै क्रोएसियाले कतारमा जारी फिफा विश्वकप फुटबलमा तेस्रो स्थान हासिल गरेको छ । शनिबार राति भएको खेलमा क्रोएसियाले मोरक्कोलाई २–१ ले हराउँदै तेस्रो स्थान हासिल गरेको हो ।

क्रोएसियालाई विजयी गराउन जोस्को भार्डीयोल र मिस्लाभ ओर्सिचले एक एक गोल गरे भने मोरक्कोका अच्रफ दारीले एक गोल फर्काए ।

खेलको सातौं मिनेटमा जोस्कोले हेडरमार्फत गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । तर, नवौं मिनेटमा दारीले गोल गर्दै मोरक्कोलाई १–१ को बराबरीमा ल्याए । त्यसपछि ४२ औं मिनेटमा ओर्सिचले गोल गर्दै क्रोएसियालाई २–१ को जित दिलाए ।

क्रोएसियाको यो जितसँगै मोरक्कोको विश्वकप यात्रा चौथो स्थानमै सिमित बन्यो । क्रोएसियाले भने विश्वकप फुटबलमा दोस्रो पटक तेस्रो स्थान लिन सफल भयो । यसअघि सन् १९९८ को विश्वकपमा पनि क्रोएसिया तेस्रो भएको थियो । रुसमा चार वर्षअघि भएको विश्वकप फुटबलमा क्रोएसिया उपविजेता बनेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *