काठमाडौं । विपद्पूर्व, विपद्को समय र विपद् पछिका तीनै चरणका लागि अपाङ्गता भएका व्यक्तिहरूलाई पनि दृष्टिगत गरी सूचना, नीति तथा कार्यक्रमहरु बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आयोजनामा सोमबार काठमाडौंमा भएको ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा अपाङ्गता भएका व्यक्तिहरुको समवेशीकरण तथा सहभागिता’ विषयक अन्तरक्रियाका वक्ताहरूले विपद्बाट सबैभन्दा बढी अपाङ्गता भएका व्यक्तिहरू प्रभावित हुने भन्दै उनीहरूको सुरक्षाका लागि पनि प्रभावकारी कार्यक्रम बनाउनुपर्नेमा वक्ताको जोड थियो ।
उक्त कार्यक्रममा प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा अपाङ्गता भएका व्यक्तिका समवेशीकरण तथा सहभागिताका लागि प्राधिकरणका तर्फबाट मानक निर्देशिकाहरू तयार गरी त्यसलाई स्थानीयकरण गर्ने कार्य भइरहेको जानकारी दिनुभयो ।
राष्ट्रिय अपाङ्ग महासङ्घका सचिव सिर्जना केसीले बहुअपाङ्गतालाई पनि ध्यानमा राखेर भवनसंहिता तथा सहयोगी सामाग्रीको निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले विपद्बारेको सूचना नै अपाङ्गता भएका व्यक्तिसम्म नपुगेको भन्दै यसतर्फ प्राधिकरणको ध्यानाकर्षण गराउनुभयो ।