एमालेका निर्वाचित सांसद भेला आज

काठमाडौं । नेकपा एमालेका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य तथा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवारको भेला आज दिउँसो कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुँदैछ । निर्वाचित सांसद भेलामा उहाँहरुको संसदीय भूमिकाबारे प्रशिक्षित गराउने कार्यक्रम रहेको एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।

रिजालका अनुसार भेलामा पार्टीले संघीय संसद् तथा प्रदेशसभामा खेल्नुपर्ने भूमिका, पार्टी दोस्रो भए पनि पार्टीले खेल्नुपर्ने भूमिका बारेमा नवनिर्वाचित सांसद र उम्मेदवारलाई जानकारी गराइने छ । भेलामा प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित सांसद तथा दुवै सभातर्फका प्रत्यक्षतर्फका उम्मेदवार र निर्वाचन परिचालन कमिटीका सदस्य सहभागी हुनेछन् ।

भेलामा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । एमालेले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ४४ वटा र समानुपातिक ३४ गरी कूल ७८ सिट प्राप्त गरेको छ । प्रदेशमा प्रत्यक्ष ९१ र समानुपातिक ७० सिटमा विजय प्राप्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *