अर्जेन्टिनामा मंगलवार विजय उत्सव मनाउन राष्ट्रिय विदा

काठमाडौं। फिफा विश्वकप कतार २०२२ को उपाधि जितेको अर्जेन्टिनाले मंगलवार विजय उत्सव मनाउन राष्ट्रिय विदा दिएको छ । सोमबार कतारबाट अर्जेन्टिना प्रस्थान गरेको टोली मंगलबार बिहान स्वदेश पुगेको हो ।

३६ वर्षपछि विश्वकप जितेको राष्ट्रिय फुटबल टोली मंगलबार स्वदेश पुगेसँगै राजधानी ब्युनस आएर्सस्थित प्रख्यात ओबेलिस्कमा विजय उत्सव कार्यक्रम राखिएको छ। कार्यक्रममा उपस्थित हुन तथा खुसीयाली मनाउन अर्जेन्टिना सरकारले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो। अर्जेन्टिना सरकारले राष्ट्रिय टोलीको जितमा खुलेर खुसीयाली मनाउन बिदा दिएको जनाएको छ। त्यस्तै अर्जेन्टिना फुटबल संघले विज्ञप्ति जारी गर्दै विश्व च्याम्पियन टोलीले मंगलबार दिउँसो ओबेलिस्क क्षेत्रमा समर्थकमाझ उपाधिको खुसीयाली मनाउने उल्लेख गरेको छ।

अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै उपाधि जितेको थियो । अतिरिक्त समयमा ३–३ को बराबरीपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा भएको थियो । आइतबार लुसेल रंगशालामा सम्पन्न फाइनल खेललाई धेरैले हालसम्मकै उत्कृष्ट फाइनलको उपमा दिएका छन्। अर्जेन्टिना कप्तान लिओनेल मेस्सीले उपाधि जितेसँगै अर्जेन्टिना फर्केर समर्थकमाझ खुशी साट्न चाहेको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *