काठमाडौं। आज बुधबार कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक ५.८९ अंक घटेर १८६७.२२ विन्दुमा झरेको छ। पछिल्ला दुई कारोबार दिन बढेको बजार शेयर आज फेरि घटेको हो।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ९३ करोडभन्दा बढीको शेयर कारोबार भएको बजारमा यस दिन २५२ स्टकको २० हजार ४३३ पटकको कारोबारमा ८६ करोड ३८ लाख १६ हजार रुपैयाँ बराबरको २४ लाख ४० हजार कित्ता शेयर खरिदबिक्री भएको छ। बजार घटेपनि आज दुई स्टकको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
यस दिन आँधीखोला लघुवित्त वित्तीय संस्था र श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। आँधीखोला लघुवित्तको शेयरमूल्य यस दिन १५० रुपैयाँ ७० पैसा बढेर १ हजार ६५७ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ भने श्रृजनशील लघुवित्तको शेयरमूल्य ९९ रुपैयाँ ६० पैसा बढेर १ हजार ९६ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ।
कारोबार रकमका आधारमा यस दिन एनआईसी एशिया शीर्ष स्थानमा रहेको छ। गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको यस बैंकको यस दिन ११ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन नबिल बैंकको करिब ४ करोडको शेयर किनबेच भएको छ।
१३ उपसमूहमध्ये यस दिन बैंकिङ्ग उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक ०=२७ प्रतिशत बढेको छ। त्यस्तै, वित्त र अन्य उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ।