काठमाडौं । स्थानीय तहको निर्वाचनमा साना दलहरुले आफ्नै चुनाव चिह्न पाउने भएका छन् । निर्वाचन आयोगको आइतबार बसेको बैठकले राष्ट्रिय मान्यता प्राप्त नगरेका दलहरुलाई पनि दल दर्ताको समयमा लिएको चुनाव चिह्नकै आधारमा चुनावमा प्रतिस्पर्धा गर्न दिने निर्णय गरेको छ ।
स्थानीय तह निर्वाचनका लागि ७९ दल दर्ता भएका थिए । राजनीतिक दलसम्बन्धी ऐन अनुसार राष्ट्रिय मान्यताप्राप्त दलले मात्र आफ्नै चुनाव चिह्न पाउने व्यवस्था छ । साना दलहरुले भने आफ्नै चुनाव चिह्न पाउनुपर्ने माग गरेपछि आयोगले ती दललाई कुन कुन जिल्लामा संगठन संरचना छ भनी जिल्लागत विवरण माग गरेको थियो । त्यसका आधारमा आयोगले कुन जिल्लामा कति दल हुन्छन् भन्ने टुंगो लगाएको छ ।
यसअनुसार काठमाडौंमा सबभन्दा धेरै राष्ट्रिय मान्यताप्राप्त ६ र मान्यता नभएका ४० दल भएका छन् । यसबाहेक स्वतन्त्र उम्मेदवारका लागि पनि चुनाव चिह्न राख्नुपर्छ, यसले मतपत्रको आकार ठूलो हुनसक्छ ।